भदौ महिनाको संसदको कार्यसूचिबारे मुख्य सचेतकहरूसँग सभामुखको छलफल


काठमाडाैँ । भदौ महिनाको संसदको कार्यसूचिबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

शुक्रवार सिंहदरबारमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन्।

छलफलमा भदौ महिनाको कार्यतालिका कस्तो बनाउने र संसद कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । नेपाली महिलाहरुको चाडहरू परेकाले त्यसलाई मध्यनजर गरी कार्यतालिका बनाउन आफूले सुझाव दिएको बताए।

“सम्माननीय सभामुखज्युले हामी राष्ट्रिय दलका प्रमुख सचेतकहरुलाई बोलाउनुभएको थियो । यो गृहकार्यका लागि हो । कार्यतालिका कसरी बनाउने भनेर हो । भाद्र महिनाको १ देखि १५ गतेसम्मको कार्यतालिका कसरी बनाउने भनेर हो । हामीले सुझाव दिँदा आफ्नो सुझाव दिएका छौँ । नेपाली महिलाहरुको चाड तिज परेकाले त्यसलाई ख्याल गरेर कार्यतालिका बनाउन आग्रह गरेका छौँ,” उनले भने । प्रतिनिधि सभाको आगामी बैठक भदौ ४ गते बस्दैछ ।