भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिबद्धता


काठमाडाैँ । भारतले ७९ औँ स्वतन्त्रता दिवस भव्यताका साथ मानिरहेको छ । दिल्लीको लालकिल्लाबाट  प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको आजको  सम्बोधन ऐतिहासिक पनि छ । प्रधानमन्त्री मोदीको लालकिल्लाबाट यो १२ औँ पटकको  सम्बोधन हो । साथै  प्रधानमन्त्री मोदीले १०३ मिनेट लामो भाषण गरे । जुन भारतको इतिहासमा कुनैपनि प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको अवसरमा दिएको सबैभन्दा लामो भाषण पनि हो । प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा ‘आत्मनिर्भर भारत’ र सन् २०४७ सम्म ‘विकसित भारत’ को दृष्टिकोणलाई जनता सामु राखे ।

प्रधानमन्त्री मोदीले देशभित्र रोजगारी प्रवद्र्धन गर्नका लागि ‘प्रधानमन्त्री विकसित भारत रोजगार योजना’ नामको नयाँ योजनाको पनि सुरुवात गरिएको घोषणा गरे।

एक लाख करोड रुपैयाँ खर्च हुनेगरी बनाइएको रोजगार योजनामा निजी क्षेत्रमा पहिलो रोजगारी पाउने युवा युवतीलाई १५ हजार भारतीय रुपैयाँ दिने घोषणा गरे। रोजगारी दिने कम्पनीहरूलाई पनि प्रोत्साहनस्वरूप सहयोग गरिने प्रधामन्त्री मोदीले बताए । प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले ३ करोड ५० लाख बढी युवा युवतीलाई नयाँ रोजगारको अवसर प्रदान गर्ने बताए ।

आफ्नो लामो भाषणमा उनले पाकिस्तान र अमेरिकाको पछिल्लो कदमको आलोचना गरेका छन् । देशको आत्मनिर्भरता केबल रुपैयाँ वा आयात–निर्यातमा सिमित नभएको बताउँदै प्रधामन्त्री मोदीले अब पनि अन्य देशहरूमा निर्भर रहनु ‘विनाशको बाटो भएको बताए ।

प्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिकाको नाम नलिइकनै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको ५०% शुल्क (ट्यारिफ) लगाउने धम्कीको जवाफ दिँदै आफू ‘पर्खाल बनेर उभिने’ र भारतीय किसानको हितको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।