आम नागरिकलाई नागरिकताबिहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्न ऐन संशोधन गर्नुपरेको होः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट मात्र पनि सन्तानलाई नागरिकता दिने कानुनी व्यवस्था गर्न नागरिकता ऐन संशोधन प्रस्ताव गरिएको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानले आमा र बाबु दुवैको नामबाट नागरिकता दिने व्यवस्था गरे पनि व्यावहारिक रूपमा कार्यान्वयन नहुँदा नागरिकताबिहीन बन्नुपर्ने अवस्थाको अन्त्य बाबु विदेशी भएर आफ्नो देश फर्किएमा वा स्वदेशमै रहेर पनि सहयोग नगर्ने अवस्थामा आमाले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन पाउने अधिकार सुनिश्चित गर्ने व्यवस्थामा विधेयक केन्द्रित रहेको उल्लेख गरे ।

उनले समितिका सदस्यलाई विधेयकमा भएका कमजोरीहरुलाई सुधार गर्दै विधेयकलाई छिटो पास गर्न सुझाए । “संविधानले आमा र बुबाको नामबाट नागरकता पाइने भन्यो । तर यहाँ आमाको नामबाट मात्र नागरिकता पाइने भयो बाबाका नामबाट पाइने भएन । त्यो मुद्दामा केन्द्रित भएर अहिले हामीले नागरिकतासम्बन्धी विधेयक ल्याएका हौं । संविधानले पनि आमाको नामबाट नागरिकता दिने जुन कुरा गरेको छ । त्यो संविधानको निर्दिष्ट अधिकार प्रदान गर्ने कुरामा केन्द्रित भएका छौं,”उनले भने ।

उनले बाबाको बेपत्ता भएको वा पहिचान नखुलेको अवस्थामा आमाको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गरिएको स्पष्ट पारे ।