काठमाडाैँ । राजस्व अनुसन्धान विभागले सिल्क ग्रुप प्रा.लि., सिल्क ग्रुप अन्तर्गतको सातवटा कम्पनी र सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पासहित १० जना विरुद्ध मुद्दा दायर गरेको छ ।
८६ हजार ४ सय थान भेप चोरी पैठारीमा संलग्न रहेको आरोपमा सिल्क ग्रुप, सिल्क ग्रुप अन्तर्गतका सातवटा कम्पनी र यसका अध्यक्ष रमेश शेर्पासहित १० जना विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
राजस्व चुहावटको कसुरमा आयोगले प्रतिवादीहरूबाट जम्मा ८७ करोड ३१ लाख २३ हजार ८ सय २८ रुपैयाँ ५० पैसा बिगो कायम र सोही बराबर जरिवाना गरेर १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार ६ सय ५७ रुपैयाँ असुल गर्नुपर्ने विभागको आरोप पत्रमा उल्लेख छ ।
राजस्व अनुसन्धान विभागले ललितपुरको महालक्ष्मी नगरपालिका सितलहाइटबाट बरामद गरेको झण्डै २५ करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सिल्क ग्रुपको सामान राख्ने गोदामबाट बरामद गरेको थियो ।
विभागले गत पुस २१ गते पक्राउ गरेका सर्लाही बलारा नगरपालिका भागवतनाथ चौधरीको सूचना पछ्याउँदै जाँदा ठुलो परिमाणमा भेप बरामद भएको थियो ।
भन्सार चोरी पैठारीका भेप समेतका मालवस्तु ओसारपसार गर्ने सूचना पाएपछि विभागले चौधरीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका चौधरीले दिएको सूचनाको आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिका सितलहाइटमा रहेको आरएम ट्रेड एन्ड सप्लायर्सको गोदाममा चोरी पैठारी गरेर लुकाएको ८६ हजार ४ सय थान भेप बरामद गरेको थियो ।
विभागले भेपसँगै आरएम ट्रेड एन्ड सप्लायर्सकाका सञ्चालक कञ्चनपुरका महेशप्रसाद पाठक र सोही गोदममा मालबस्तु राख्ने सिल्क ग्रुपका ट्रान्सपोर्ट म्यानेजर सिन्धुपाल्चोकका सन्तोष पराजुलीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा विभागले सिल्क ग्रुपकाे अध्यक्ष रमेश शेर्पा र विजय शेर्पाकाे मुख्य भूमिका रहेकाे आराेपपत्रमा उल्लेख गरिएकाे छ ।
सिल्क ग्रुप प्रा.लि. यस अन्तर्गतका पाँच कम्पनीले मौज्दातमा रहेको ३८ हजार ९ सय २४ थान भेप बिल बीजक जारी
नगरी बिक्री गरेको कसूर स्थापित भएको विभागले उल्लेख गरेकाे छ ।
साथै सिल्क ग्रुप प्रा.लि.र अन्तर्गतका सात कम्पनीहरूले भन्सार चोरी पैठारी गरी ल्याएको ३ लाख १६ हजार ३ सय १५ थान भेपको स्थानीय खरिद गरेको नक्कली कारोबार देखाई एक वा सो भन्दा बढी तहहरुमा नक्कली कारोबारहरु सृजना गरी खरिदको स्रोत देखाई नपाउने भ्याट कट्टी दाबीसमेत गरेको खुलेको आरोप पत्रमा विभागले उल्लेख गरेको छ ।
विभागले महेश प्रसाद पाठकसहित २ जनालाई मतियार कायम गरेर मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्