नेपाल-भारत मैत्री समाजले मनायो भारतको ७९ औं स्वतन्त्रता दिवस, विश्वास र सहकार्यलाई निरन्तरता दिने


काठमाडाैँ । नेपाल भारत मैत्री समाजले भारतको ७९ औं स्वतन्त्रता दिवस मनाएको छ। शुक्रबार काठमाडौँकाे सोल्टीमोडस्थित ग्रान्ड होटलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे विभिन्न क्षेत्रका व्यक्तित्वहरूले विचार प्रस्तुत गरेका थिए ।

समाजका अध्यक्ष प्रेम लस्करीले नेपाल भारत मैत्री समाजले दुई देशबिचको नागरिक स्तरको सम्बन्धलाई प्रगाढ बनाउन निरन्तर कार्य गर्दै आएको बताए। उनले भने,”हाम्रो उद्देश्य जनस्तरको मित्रता, विश्वास र सहकार्यलाई निरन्तर सुदृढ बनाउँदै लैजानु हो।”

पूर्वराष्ट्रपति परमानन्द झाले नेपाल–भारतको ‘रोटी–बेटी’ सम्बन्धको ऐतिहासिक पृष्ठभूमि रहेको उल्लेख गर्दै सीमामा देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई पर्खाल लगाएर नभइ आपसी सहमति र समन्वयबाट समाधान गर्नुपर्नेमा जोड दिए।

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भारतको स्वतन्त्रताले नेपालको प्रजातान्त्रिक यात्रालाई गति दिएको बताए। उनले भने,”भारत स्वतन्त्र नभएको भए नेपालमा प्रजातन्त्र आउन ढिलो हुन्थ्यो। भारतको विविधतामा प्रजातन्त्र टिक्नु प्रेरणादायी छ। नेपाल–भारत सम्बन्ध बहुआयामिक छ, सीमा सुरक्षादेखि ऊर्जा, कृषि र सूचना प्रविधिसम्म सहकार्यका अवसर प्रशस्त छन्।”

नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षितले नेपाल र भारतबिच जनस्तरमै गहिरो सम्बन्ध रहेको र यसलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए।

पूर्वप्रधानमन्त्री पशुपति समशेर जबराले राम–सीताको वैवाहिक सम्बन्ध र बुद्धको महापरिनिर्वाण भारतमा भएको प्रसंगलाई उल्लेख गर्दै नेपाल–भारतबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले धार्मिक, सांस्कृतिक, आध्यात्मिक र व्यापारिक सम्बन्धलाई मजबुत बनाउन कनेक्टिभिटी विस्तार र लगानी प्रवर्द्धनमा दुवै मुलुकले ध्यान दिनुपर्ने बताए। उनले निजी क्षेत्रको भारतीय लगानी बढाउन आग्रह गरिन्।

पूर्वमन्त्री प्रेमबहादुर आलेले भारतमा करिब ४० लाख नेपाली विभिन्न पेशामा कार्यरत रहेको तथ्य प्रस्तुत गर्दै भने, “भारतबाट १० प्रतिशत मात्र पर्यटक नेपाल भित्र्याउन सक्यौं भने रोजगारी सिर्जना हुनेछ र युवा पलायन घटाउन सकिन्छ। पूर्वाधार विकासमा दुवै देशको सहकार्य आवश्यक छ।”

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीले योगदान गरेको र नेपालको राणा शासनविरुद्धको आन्दोलनमा भारतीय नेताहरूले सहयोग गरेको स्मरण गराए। उनले आजको भारत विश्व शक्तिको रूपमा स्थापित भएको र यसको विविधताले नेपाललाई प्रेरणा दिने बताए।

भारतीय दूतावासका उपमुख्य नियोगाधिकारी राकेश पाण्डेले नेपाल–भारतबिचको मित्रता लामो समयदेखि निरन्तर रहेको र भविष्यमा पनि यसलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा समाजका पदाधिकारी, नेपाल र भारतका उद्योगी, व्यापारी, राजनयिक, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीको सहभागीता थियो।