काठमाडौँ । चीनको चांगन अटोमोबाइलको सब-ब्रान्ड डीपलले बनाएको अटोनोमस फ्लाइङ कार तातोपानी नाकामा आइपुगेको छ।
इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभीटीओएल) प्रविधिमा आधारित यो फ्लाइङ कारलाई आगामी नाडा अटो सोमा प्रदर्शनका लागि नेपाल भित्र्याउन लागिएको हो।
भन्सार कार्यालयका अनुसार हाल कार नाकामै छ र भन्सार प्रक्रिया पूरा भएपछि मात्र काठमाडौँ ल्याइनेछ। बाढी–पहिरोका कारण सडक अवरुद्ध भएकाले कारलाई स्थानीय भरियामार्फत बोकेर नाकासम्म पुर्याइएको हो।
भदौ ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो सोमा यो फ्लाइङ कारलाई भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलकका रूपमा प्रस्तुत गरिनेछ। प्रदर्शनीमा आउने जो कोहीले पनि यसलाई नजिकैबाट अवलोकन गर्न पाउनेछन्।
डीपलको यो इभीटीओएल फ्लाइङ कारको उचाइ १.९३ मिटर र चौडाइ ५.७३ मिटर रहेको छ। यसले ६२० केजी भार बोकेर एकपटकको फुल चार्जमा ३० किलोमिटरसम्म उड्न सक्छ। कारको अधिकतम गति प्रति घन्टा १३० किलोमिटर रहेको कम्पनीले जनाएको छ।
नेपालमा पहिलोपटक सार्वजनिक हुन लागिरहेको यस कारले भविष्यमा हवाई मोबिलिटी र प्रविधिको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्