काठमाडौँ । सुनकोशी–मरिन डाइभर्सन आयोजनामा लगानीको अभाव देखापरेपछि निर्माणमा ढिलासुस्ती भएको निर्माण कम्पनीका अधिकारीहरूले बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले गठन गरेको उपसमितिमा आइतबार आयोजना निर्माणको ढिलासुस्तीबारे छलफल भएको थियो । छलफलमा सहभागी रमण कन्स्ट्रक्सनका प्रतिनिधि रमण पट्टेलले बैंकहरूले आयोजना फन्डिङ रोक्न थालेकाले समस्या बढेको बताए ।
पट्टेलले भने, “सुनकोशी–मरिन डाइभर्सन सुस्त गतिमा अघि बढ्नुका धेरै कारण छन् । मैले यसअघि ५० अर्बभन्दा बढीका आयोजनाहरू सम्पन्न गरेको छु । घाटा–नाफा नहेरी ठेक्का पूरा गर्ने परम्परा रहँदै आएको छ । तर अहिले बैंकहरूले लगानी रोकेका कारण भेरी–बबईसहित अन्य आयोजना समेत समस्यामा पर्न थालेका छन् ।”
उनका अनुसार सुनकोशी–मरिन आयोजनामा ३२ प्रतिशत कममा ठेक्का लिएको भए पनि हाल बैंकहरूको लगानी नआएपछि ठेक्का तोडेर समाधान खोज्ने अवस्था छैन ।
उक्त आयोजनामा प्राइम कमर्सियल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंकलगायतका वित्तीय संस्था सहभागी छन् । प्रभु बैंकका प्रतिनिधि पेशल दाहालले आवश्यक परेका बेला आयोजनास्थलमा पुगेर कामको प्रगति मूल्यांकन गर्दै आएको जानकारी दिए ।
दाहालले भने, “चार वटा बैंकबाट ५० करोड दिने निर्णय भइसकेको छ । तर, बैंक ग्यारेन्टी क्लेमको अवस्था आएकाले थप लगानी गर्न अप्ठ्यारो पर्ने स्थिति बनेको छ ।” उनले रमन कन्स्ट्रक्सनले आलोपालो भुक्तानी प्रणालीमा काम अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्