दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैनः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आइतवारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भएपनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ ।

उनले यात्रुको भीडभाड चाँडबाँडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरूलाई आग्रह गरेको पनि बताए । उनले यातायात व्यवसायीहरूसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए । उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरू प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए ।

निर्माणाधिन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालको भनाइ छ ।