नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको बताएका छन्।

सोमवार काठमाडौँमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोध्न गर्दै उनले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्शानी भएको बताएका हुन् ।

तराई, मधेसमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या हुनुका साथै किसानले धान रोप्न नपाएको बताए । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको बताए ।

जलवायु परिवर्तनबाट महिला, बालबालिका र विपन्न समुदाय सबैभन्दा पीडित रहेको बताए । जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न माग गर्नुभयो । नेपालमा जैविक विविधताको क्षेत्रमा ठूलो लगानी भएको भएको बताए । न्युन कार्बन उत्सर्जन गर्दागर्दै पनि नेपालले जलवायु परिवर्तनको गहिरो असर भोग्नुपरेको बताए ।

मन्त्री ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका करिव दुई अर्ब नागरिकको पानी, खाद्य र उर्जा सुरक्षाको आधार नेपाल भएको बताए ।जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास आउँदा ठूलो समस्या भइरहेको बताए ।