सम्पती अधिकार रक्षा गर्न हुलाक टिकट महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पती अधिकार रक्षा गर्न हुलाक टिकटको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।

मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा उनले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गर्ने बताएका हुन् ।

बासमति धान नेपालको रैथानी बाली भएपनि हाल यसको प्याटन राईट्स भने भारतले लिएको उनले उल्लेख गरे । बासमति धानको प्याटन राईट्सबाट आउने रकम सबै भारतले पाउने तर नेपालले नपाउने उनको भनाइ छ ।

यी लोपन्मुख चिजहरुलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो अधिकार दाबी गर्नको लागि पनि हुलाक टिकटहरुको महत्वपूर्ण भुमिका हुने उनले बताए । लोप हुन लागेका वस्तुहरुको नाममा अब सरकारले हुलाक टिकट छाप्ने उनले जानकारी दिए ।

सञ्चारमन्त्री गुरुङले देशमा योगदान दिने व्यक्तिहरुको नाममा पनि खोजी खोजी हुलाक टिकट छाप्ने बताए । विभिन्न मोर्चाहरु कुटनीतिक, लडाईं र प्रशासनिक मोर्चाहरुमा सहभागी भएर देश र जनताको पक्षमा लाग्ने व्यक्तिहरुको हुलाक टिकट प्रकाशन गर्ने उनको भनाइ छ । उनले हाम्राे भूमी जोगाउनको लागि पूर्खाहरुले लडाइ गरेको उनकाे भनाइ छ । पूर्खाहरुले लडाईं लडेर  जोगाएको भूमी पनि अहिलेसम्म पाउन नसकेको उनले उल्लेख गरे ।  

कालु पाँडेका छैटौँ पुस्ताका वंशज सरदार भीमबहादुर पाँडेको देशभक्ति र देश विकासमा रहेको योगदानको कदर गर्दै सरकारले उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गते भीमबहादर पाँडेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार हुलाक सेवा विभागले १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ । सरदार भीमबहादुर पाँडे कुसल प्रसाशक, अर्थशास्त्री तथा लेखक थिए ।