काठमाडाैँ । ईलाम नगरपालिका वडा नम्बर ९ र ११ जोड्ने पुवा खोलामा निर्माण गरिएको बेलीब्रिज बुधबार औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले संयुक्त रूपमा पुलको उद्घाटन गरेका हुन्।
भारतीय सरकारको सहयोगमा बनेको सो पुल सञ्चालनमा आएपछि ताप्लेजुङ, पाँचथर र ईलामका बासिन्दालाई झापासम्मको आवतजावत सहज हुने भएको छ । ४८.८ मिटर लम्बाइको पुल १ करोड ४८ लाख रुपैयाँ लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले निर्माण गरेको हो ।
सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईका अनुसार पुल सञ्चालनमा आएसँगै पहाड र तराईबीचको दूरी घट्नुका साथै यातायात सहज भएको छ ।
साथै, यसले स्थानीय कृषि उपजको बजार विस्तारमा टेवा पुर्याई आर्थिक स्तर उकास्न सहयोग गर्ने विश्वास गरिएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले पुलले स्थानीय विकास र समृद्धिमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे।
उद्घाटन समारोहमा संघीय सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख बिनोदकुमार मौवार, ईलाम नगरपालिकाका प्रमुख केदार थापा लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आजै पाँचथरको हेँवा खोलामा जडान गरिएको मोडुलर ब्रिजको पनि उद्घाटन गर्ने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्