‘तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने सार्वजनिक जग्गा अतिक्रमण भएको छ’


काठमाडाैँ । काठमाडौं उपत्यकामा रहेका सार्वजानिक, नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरु नै संलग्न रहेको पाइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

बुधवार आयोजित पत्रकार सम्मलेनका प्राधिकरणको काडमाडौँ जिल्ला आयुक्त शुभाष बस्नेतले उच्चपदस्थ व्यक्ति तथा नाम चलेका विद्यालयहरुले सार्वजानिक जग्गा अतिक्रमण गरेको जानकारी दिए ।

उनले काठमाडौमा कम्तीमा पनि एक लाख रोपनी भन्दा धेरै जग्गा अतिक्रमण भएको बताए । २०२१, २०४४ र २०५६ को नापीलाई अध्ययन गर्दा धोबी खोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको उनले जानकारी दिए ।

तीन चरणको नापीलाई अध्ययन गर्दा ३ हजार रोपनी नदी किनारका मात्रै अतिक्रमण गरिएको उनको भनाइ छ । ती जग्गाहरु अहिले व्यक्तिले आफ्नो नाममा दर्ता गरिसकेको स्थिति रहेको उनले बताए ।

तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको उनको भनाइ छ । ती सबै जग्गाहरु झुपडीवालाले नभई ठूलाठूला व्यक्ति, नाम चलेको स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेको उनले बताए । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पती रोक्का गर्ने काम शुरु गरेको पनि उनले जानकारी दिए । प्राधिकरणलाई जग्गा रोक्नसक्ने अधिकार रहेको उनले उल्लेख गरे । उनले माधव खोलामा सार्वजानिक जग्गा मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरुको प्राधिकरणले सम्पती रोक्का गरिसकेको जानकारी दिए । 

उनले चैत ३ गतेदेखि अवैध प्लटिङ्गलाई कित्ताकाट रोक्का गरेको जानकारी दिए । हाल १ हजार १५० कित्ता अवैध प्लटिङ्ग रोक्का भएको उनकाे भनाइ छ ।