काठमाडाैँ । उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली काँग्रेस र नेकपा (एमाले) हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सरकारको तर्फबाट नै सम्मनित संसद र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गरे । उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गरे । लोकतन्त्रको बिरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उनको भनाइ छ ।
उनले नेपाली काँग्रेसलाई विपी कोईरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गरेका छन् । उपसभामुखको पदमा रहेका जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी दिए ।
उनले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए ।
प्रतिक्रिया दिनुहोस्