पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे


काठमाडाैँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरुमाथि प्रश्न उठाएका छन् । अहिलेका कानूनहरु थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका हुन् ।

बुधवारको अर्थसमितिको बैठकमा उहाँले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे । उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताए । उनले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे । 

सभापति चालिसेले भने, “यस्ता कानून बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि । कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानूनले बनाइदिनुपर्छ । उसले पैसा नपाएर रुवावासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बद्मासी गरेको छ भने सम्पती रोक्का गरेर भएपनि हामीले तिनैपर्छ भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?” 

बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धि विधेयकलाई सर्वसम्मती रुपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रश्तुत गर्नेछन् ।