काठमाडाैँ । नेपाल आयल निगमले इन्धन आपूर्ति प्रणालीलाई थप सुदृढ र व्यवस्थित बनाउन लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा नयाँ अत्याधुनिक इन्धन भण्डारण डिपो निर्माण सुरू गरेको छ ।
इन्धन भण्डारण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निगमले जिल्लाको रोहिणी र ओमसतिया गाउँपालिकाको २५ बिघा क्षेत्रफलमा नयाँ अत्याधुनिक डिपो निर्माण गर्न लागेको हो ।
लुम्बिनी प्रदेशमा बढ्दो इन्धन मागलाई ध्यानमा राख्दै आपूर्ति सन्तुलन कायम गर्न तथा आकस्मिक तथा आपतकालीन परिस्थितिमा सुरक्षित भण्डारण र आपूर्ति सुनिश्चित गर्न इन्धन डिपो निर्माण गर्न लागिएको आयोजना प्रमुख एवं इन्जिनियर प्रदीपकुमार यादवले बताए ।
उनका अनुासर हाल सञ्चालनमा रहेको भैरहवास्थित डिपोको तुलनामा नयाँ डिपोको भण्डारण क्षमता दोब्बर हुनेछ । उक्त इन्धन डिपो निर्माण सम्पन्न भइसकेपछि लुम्बिनी प्रदेशमा एक महिनाको लागि आवश्यक पर्ने इन्धन भण्डारण गर्न सकिने बताए ।
परियोजनाको प्रारम्भिक लागत करिब ७९ करोड ४२ लाख रुपैयाँ अनुमान गरिएको छ । डिपोसँगै कर्मचारी आवासगृह (महिला तथा पुरुष छुट्टाछुट्टै), प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, स्टोर तथा गोदाम भवन, पहुँच मार्ग र सुरक्षा पर्खाल, अग्नि नियन्त्रण (फायर फाइटिङ) प्रणाली, विद्युत प्रणाली तथा सिसिटीभी निगरानी कक्षहरु निर्माण गरिने उनले उल्लेख गरे ।
उनले उक्त इन्धन ट्याङ्की अगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । डिपो निर्माणले लुम्बिनी प्रदेशमा इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने आयोजना प्रमुखको यादवको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्