नाडा अटो साे २०२५ः उड्ने कार र नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण


काठमाडौँ । विसं २०५५ सालदेखि हरेक वर्ष दसैं नजिक आयोजना हुँदै आएको ‘नाडा अटो साे यस वर्ष पनि राजधानीको भृकुटीमण्डपमा गत मंगलबारदेखि चलिरहेको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको यो मेला यसपटक १७ औँ संस्करणमा प्रवेश गरेको छ।

सुरुवाती वर्षमा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसमार्फत आयोजना भएको यो प्रदर्शनी दोस्रो वर्षसम्म निरन्तरता पाएपछि तत्कालीन अध्यक्ष रोहिणी थपलियाको नेतृत्वमा नाडाले यसलाई आफ्नो स्वामित्वमा लियो। त्यसपछि सहभागी सङ्ख्या दोब्बर बढ्दै गयो र सन् २०११ देखि वार्षिक रूपमा आयोजना हुन थालेपछि नाडा अटो साे नेपालकै प्रमुख अटो प्रदर्शनीका रूपमा स्थापित भएको छ।

वि.सं. २०३२ सालमा सवारीसाधन आयातकर्ताको हकहितको संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको नाडाले सुरूवातदेखि नै सवारीसाधनको बिक्री–वितरणलाई सहज बनाउने, बजारमा प्रतिस्पर्धात्मक वातावरण तयार गर्ने र अन्तर्राष्ट्रिय अटो उद्योगसँगको सम्बन्ध मजबुत बनाउन योगदान दिंदै आएको छ भने नाडा अटाे साे मार्फत व्यापार व्यवसायी बढाउँदै आएकाे छ ।

यो प्रदर्शनीले नयाँ प्रविधि, मोडल र ब्रान्डका सवारी साधनलाई उपभोक्तासम्म पुर्‍याउनुका साथै बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै ऋण प्रवाहलाई सहज बनाउने भूमिका पनि खेल्दै आएको छ। विगतका संस्करणहरूमा नयाँ गाडी र ब्रान्डको प्रदर्शनमा केन्द्रित नाडाले यस वर्षको १७ औँ संस्करणमा नवीनतम प्रविधि र फरक आकर्षण समावेश गरेको छ।

उड्ने कारदेखि ब्राण्डहरूले तानेको अवलोकनकर्ता

यस वर्ष नेपालमा एक साताको फरकमा दुईओटा अटो साे आयोजना भए। गत साउन २१ गतेदेखि २६ गतेसम्म नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसीएसन (नाइमा) ले मोबिलिटी एक्स्पो सम्पन्न गरिसकेको छ भने नाडा अटो साे भदाैँ ८ गतेसम्म भृकुटीमण्डपमा जारी छ।

एक हप्ताको अन्तरालमै दुई साे हुँदा नाडा अटो साेमा दर्शक कम हुने आंशका गरिएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेलगत्तै पहिलो दिनमै अवलोकनकर्ताको उल्लेख्य भीड देखियो। यस संस्करणमा चांगन डिपलको ‘फ्लाइङ ट्याक्सी’ सबैभन्दा ठूलो आकर्षण बनेको छ।

पहिलो दिन मात्र नभई दोस्रो दिन अर्थात् बुधबार पनि याे स्टल लगायत अन्य ब्राण्डका स्टलमा पनि दिनभर भीड लागिरह्यो। आगन्तुकहरूले डिपलका सबै मोडलका गाडी नजिकैबाट अवलोकन गरे, जसमा भर्खरै लन्च गरिएको एस०५ मा विशेष चासो देखियो। यता अन्य कम्पनीहरूको स्टलमा पनि अवलोकनकर्ताको आकर्षण उत्तिकै हुन पुग्याे। सुजुकीले नेपालमा पहिलो पटक आफ्नो विद्युतीय गाडी ‘ई–भिटारा’ प्रस्तुत गरेको छ, जसको बुकिङ खुला गरिएको छ र कम्पनीका अनुसार यसको डेलिभरी आगामी अक्टोबरदेखि सुरू हुनेछ।

त्यस्तै, एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोट प्रदर्शनीमा राखेको छ, जसले आगन्तुकहरूसँग हात मिलाउनेदेखि विभिन्न गतिविधि देखाएर विशेष ध्यान तानेको छ। यी नयाँ प्रविधि र आकर्षक मोडलहरूको कारण नाडा अटो साे केबल सवारी साधनहरूको प्रदर्शनी मात्र नभई भविष्यको नयाँ प्रविधि र सम्भावनाको उत्सव बनेको नाडाका अध्यक्ष करण चाैधरी बताउँछन् ।

चाडपर्वमा व्यापारको बाटो

नेपालीहरूको महान चाडपर्व दसैँ, तिहार र छठलाई विशेष उत्साह र उल्लासका साथ मनाउने गरिन्छ। यस्ता पर्वमा नयाँ वस्तु खरिद गर्ने परम्परा नेपाली समाजमा लामो समयदेखि चलिआएको छ। यस समयमा घरायसी सामानदेखि सवारीसाधनसम्म खरिद गर्नेक्रम बढ्ने भएकाले देशभरका सवारीसाधनका सोरुमहरूमा पनि मानिसको भीड लाग्ने गर्छ।

सवारीसाधनको बिक्री बढाउन र आफ्नो ब्रान्डलाई स्थापित गर्न विभिन्न कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै आकर्षक छुट र अफर सार्वजनिक गर्ने गर्छन्। त्यही सन्दर्भलाई आधार मानेर नाडाले पनि प्रत्येक वर्ष दसैँ, तिहार र छठअघि अटो साे आयोजना गर्दै आएको छ। नाडाको अनुभव अनुसार नेपालमा अटो क्षेत्रमा हुने वार्षिक कारोबारमध्ये करिब ३० देखि ४० प्रतिशतसम्म कारोबार यही समयमा हुने गर्छ।

यसै कारण चाडपर्वलाई लक्षित गर्दै धेरै कम्पनीहरूले अटो साेमै नयाँ अफर र छुट सार्वजनिक गरेका छन्। जसको प्रत्यक्ष प्रभाव स्वरूप मेलामा विभिन्न ब्रान्डका गाडीहरूको राम्रो बुकिङ भइरहेको छ भने धेरै कम्पनीहरूले यी अफर चाडपर्वभर कायम राखेका छन्।

व्यवसायीहरूका अनुसार अटो साे चाडपर्वलाई ध्यानमा राखेर आयोजना गरिने भएकाले यस समयमा गाडी बुकिङ गर्ने ग्राहकको संख्या अन्य समयमा भन्दा धेरै हुन्छ। अध्यक्ष चौधरीका अनुसार वर्षभरको कारोबारको तुलनामा अटो साे अवधिमा मात्रै ३०–४० प्रतिशतसम्म बुकिङ हुने गर्छ। त्यस्तै, साेमा नयाँ मोडलका सवारीसाधन लन्च गर्न सकिने भएकाले ग्राहकको ध्यान तान्न सजिलो हुने व्यवसायीहरूको अनुभव छ।

दसैँको मुखमै विभिन्न छुट, अफर र विशेष सुविधा उपलब्ध हुने भएकाले यस वर्षको नाडा अटो साे पनि ग्राहक आकर्षणको केन्द्र बनेको आयोजकहरूको दाबी छ।