स्याङ्जामा तीन फरार कसूरदार पक्राउ


काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले अदालतबाट फरार रहेका तीन जना कसूरदारलाई पक्राउ गरेको छ ।

अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन, जरिवाना असुल गर्न तथा न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यसहित टोलीले उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ७ बस्ने आस्मा भट्टराईले चेक अनादर मुद्दामा ५०० रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो ।

त्यस्तै स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ६, टक्सार निवासी यमुना गुरुङ र अन्जना गुरुङ दुवै अंशवण्डा मुद्दामा फरार रहेका थिए । उनीहरूबाट क्रमशः ८२५.३३ रुपैयाँ–८२५.३३ रुपैयाँ गरी कुल २,१५०.६६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतका फैसलालाई चुस्त र दुरुस्त रूपमा कार्यान्वयन गर्दै सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा निरन्तर सक्रिय रहेको जनाएको छ ।