शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना


काठमाडाैँ । शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गतका ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ ।

प्राथमिकतायुक्त आयोजनाहरुको २४सै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने उक्त कक्षको बिहीवार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरेका छन् । उक्त कक्षबाट मन्त्रालयका कर्मचारीहरुले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न सक्नेछन् ।

शुभारम्भ कार्यक्रममा मन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले समय र खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विकास निर्माणका आयोजनाहरुलाई गति दिन यस कक्षले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

तत्कालका लागि अनलाइन अनुगमन कक्षबाट कीर्तिपुररस्थित क्रिकेट रंगशाला र नवलपुर जिल्ला सदरमुकाको आयोजना मनिटरिङ गरिएको छ । आउँदा दिनमा मन्त्रालयमातहतका प्राथमिकतायुक्त सबै आयोजनालाई अनुगमन गर्ने प्रक्रियामा जाने मन्त्री सिंहले बताए ।

अनलाइनमार्फत अनुगमन गरेपनि भौतिक अनुगमन गरेर प्रगतिको अवस्था बुझ्ने कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।