काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटाेमाेबाइल एसाेसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा सिइओ गुरुङले बैंकको ऋण विविधिकरण गरिरहेको बताएका हुन् ।
अटाेमाेबाइल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए । उनले अटाेमाेबाइल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको बताए ।
“अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ । त्यसमा खराव कर्जा पनि बढ्ने गरेको छ । तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम रहेको छ,” उनले भने । बैंकहरूले कुनै पनि सवारी साधनको ब्रान्डलाई कर्जा प्रवाह गर्दा ग्राहकको गाडीप्रतिको सोच कस्तो छ भनेर पनि हेर्ने गरेको उनको भनाइ छ ।
“व्यवसायीक गाडीमा लगानीगर्दा बढी चुनौती छन् । निजी गाडीमा कर्जा दिदाँ व्यक्तिको सम्पत्ति पनि धितो राख्ने गरेको छौं,”उनले भने । उनले ‘लोन टु भ्यालू रेसियो’ देशअनुसार फरक फरक हुने गरेको बताए । व्यावसायिक र निजी गाडीमा पनि ‘लोन टु भ्यालू रेसियो’ फरक फरक हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्