प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज: विधेयकमाथि छलफल र निर्णय हुने


काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकको मुख्य कार्यसूचीमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने एजेण्डा रहेको छ । सो विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नेछन् ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीअनुसार गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिनेछन् ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ को प्रतिवेदन प्रस्तुत गर्नेछिन् ।

त्यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गर्न प्रस्ताव राख्नेछन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ समितिमा पठाउने प्रस्ताव राख्ने कार्यसूची तय भएको छ ।

यता, राष्ट्रियसभा बैठक आज दिउँसो १२:१५ बजे बस्नेछ । सो बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि मन्त्रीहरूले उत्तर दिनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् भने गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि समितिको प्रतिवेदनसहित छलफल अघि बढाउनेछन् । सो विधेयक आजकै बैठकबाट पारित हुने सम्भावना छ ।