काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने टुइनेटर जहाजको अभावका कारण नियमित हवाई सेवामा समस्या देखिएको बताएका छन्।
शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित कर्णालीका विभिन्न जिल्लामा हवाई सेवा विस्तारसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने उडान अनियमित हुँदा संघीय सरकारको ध्यानाकर्षण गराएको थियो।
छलफलमा मुख्यमन्त्री कंडेल, पूर्वमुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेश सरकारका मन्त्रीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
सहभागीहरूले कर्णालीका पहाडी जिल्लामा भर्खरै मात्र सडक पुगेको तर भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राखे। मुख्यमन्त्री कंडेलले प्रदेश सरकार सहकार्य गर्न तयार रहेको भन्दै स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे।
उनले अनुमति लिँदाको समयमा गरिएको प्रतिबद्धता पालना गर्नुपर्ने र सुर्खेत विमानस्थललाई ‘टुइनेटर हब’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।
सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ भएको बताए। उनका अनुसार सुर्खेतलाई आधार बनाएर केही उडान भइरहेको भए पनि जुम्ला, सिमिकोटलगायत क्षेत्रमा यात्रु भेटिए मात्र उडान गर्नुपर्ने बाध्यता छ। राज्यले विशेष सहुलियत दिनुपर्ने माग समेत राखियो।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए। उनका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै निजी कम्पनीलाई समेत सामेल गरेर सुर्खेतबाट दुर्गम जिल्लामा नियमित उडान गर्न सकिनेछ।
सहभागीहरूको प्रश्नमा जवाफ दिँदै मन्त्री पाण्डेले टुइनेटर जहाजको कमीले दुर्गम जिल्लामा सेवा विस्तारमा अवरोध भएको प्रष्ट पारे। उनले भने, “प्राविधिक छलफलपछि मात्र सुर्खेतलाई आधार बनाएर उडान सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने टुंगोमा पुग्नेछौं।”
उनका अनुसार हाल देखिएको जहाज अभाव समाधानका लागि मन्त्रालयले सातै प्रदेशका लागि सातवटा टुइनेटर जहाज खरिद गर्ने प्रस्ताव अघि सारेको छ।
पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँग सहकार्य गरेर सेवा विस्तार गर्ने विश्वास व्यक्त गर्दै उनले भने, “नेपाल एयरलाइन्सका दुईवटा टुइनेटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन। दीर्घकालीन सोचका साथ नयाँ जहाज थप्नैपर्छ।”
मन्त्री पाण्डेले मुलुकभर ५३ वटा विमानस्थल रहे पनि सीमित संख्यामा मात्र जहाज सञ्चालन भइरहेको तथ्य औँल्याउँदै भने, “देशभर ५३ विमानस्थल छन्, तर टुइनेटर विमानको संख्या घट्दै गएको छ। यसरी विमान घट्दै गएमा दुर्गम क्षेत्रका नागरिकको जीवन अझ कठिन हुन्छ। हुम्ला र लुक्ला बाहेक धेरै विमानस्थल प्रायः निष्क्रिय बनेका छन्।”
प्रतिक्रिया दिनुहोस्