लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलको माध्यमबाट समाधान गरोस्ः सांसद खतिवडा


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसँग सम्बन्धित चीन र भारतबिच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणको अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्ने बताएका छन्। उनले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठेर राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

सांसद खतिवडाले भने, “लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट चीन र भारतले गरेको व्यापार सम्झौताको विषय अहिले व्यापक रूपमा चर्चामा छ। सरकारले यस समस्यालाई कुटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गर्नुपर्छ। संयोग छ, माननीय प्रधानमन्त्री केही दिनपछि चीन र भारतको भ्रमणमा जाँदै हुनुहुन्छ। सो अवसरमा दुवै देशका प्रमुखसँग स्पष्ट स्ट्यान्ड राखेर कुरा गर्नु जरुरी छ। यस्तो अवस्थामा हामी सबै नेपालीहरू कुनै पार्टी वा जाति भन्दा माथि उठेर नेपालको स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा उभिनुपर्छ।”

उनले तीब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै, यसबारे पनि दुई देशबिच आपसी सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।