नेपाल-चीनबिच आर्थिक विकासमा सहकार्य आवश्यक


काठमाडाैँ ।चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत दक्षिण एसिया अध्ययन संस्थाका नेपाल अध्ययन केन्द्रका निर्देशक डा.ह्वाङ झेङदोउले चीन-नेपाल द्विपक्षीय व्यापार पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको उल्लेख गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत आर्थिक सहकार्य थप सुदृढ बनाउन सकिने बताएका छन्।

नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता संस्थानद्वारा आयोजित ‘नेपाल-चीन सम्बन्धका ७० वर्ष’ विषयक सेमिनारमा उनले दीर्घकालीन व्यापार असन्तुलनलाई चुनौतीको रूपमा औंल्याउँदै, नेपाली स्थानीय उद्यमहरूसँग सहकार्य बलियो बनाउनु आवश्यक रहेको बताए।

चीन-नेपाल मैत्री औद्योगिक पार्कको उदाहरण दिँदै उनले जमिन अधिग्रहणमा न्यून क्षतिपूर्तिका कारण स्थानीय विरोध र दशकभर प्रगति नभएको अवस्थालाई औंल्याए। उनका अनुसार, दुवै देशका उद्यमबिच सकारात्मक अन्तरक्रिया बढाउन सक्नुभएमा मात्र बेल्ट एण्ड रोड पहलका परियोजनाहरूको वास्तविक सम्भावना उपयोग गर्न सकिन्छ।

डा.गाओ लियाङले सुरक्षा, वातावरण, र अन्य देशहरूसँगको प्रतिस्पर्धालाई चीन-नेपाल सहकार्यका प्रमुख पक्षको रूपमा उल्लेख गर्दै नेपाललाई चीनका लागि केवल सुरक्षा दृष्टिकोणबाट मात्र होइन, क्षेत्रीय विकास र सम्पर्क विस्तारका हिसाबले पनि रणनीतिक महत्व रहेको बताए।

उनले जलविद्युत व्यापारको उदाहरण दिँदै नेपालको आर्थिक वृद्धिमा चीनको वास्तविक प्रतिबद्धता रहेको बताए। साथै दुवै देशका लागि विविधतापूर्ण बाह्य सम्पर्क आवश्यक रहेकोमा जोड दिए ।

लिपुलेक नाकाबाट व्यापार गर्ने भारत-चीनबिचको हालैको सम्झौताबारे प्रश्न गर्दा डा.गाओले चीन कुनै पक्षमा नरहेको र नेपाल-भारतबिचको संवादमार्फत समाधान खोजिनुपर्ने बताइन् ।

सेमिनारमा डा.ह्वाङ झेङदोउ र उप-निर्देशक डा. गाओ लियाङ प्रमुख वक्ता थिए। सत्रको अध्यक्षता अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ तथा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका प्रमुख डा। लीला न्याइच्याईले गरेका थिए ।

कार्यक्रममा शिक्षाविद्, अनुसन्धानकर्ता र नीतिनिर्माताहरू सहभागी भई नेपाल-चीन सम्बन्धका सात दशकको मूल्याङ्कन गर्दै भविष्यका सम्भावनाहरूमा छलफल गरिएको थियो।