नेपालको भूमिमा व्यापार मार्ग खोल्नु देश जनताको लागि दुःखको कुराः सांसद ढुंगाना


काठमाडौं । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन—भारतबीचको सम्झौता दुःखद् भएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्म्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद् भएको बताए।

उनले भने, ‘हालै चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्म्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गरे । यो नेपाल र नेपाली जनताका लागि धेरै नै दुःखद् कुरा हो । यसका बारेमा यो भन्दा पहिला पनि भारतका प्रधानमन्त्री र चीनका प्रधानमन्त्रीले यो लिपुलेक, लिम्पियाधुरा र कालापानीमा व्यापार सम्झौता गरेका थिए । तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोईरालाले नोट लेखेरै भारतलाई यो त्रिपक्षिय ठाउँ हो । यो नेपालको भूमि हो ।’

उनले यसबारे सरकारले कुटनीतिक नोट लेख्नुपर्ने उल्लेख गर्दै नेपालको भूमिको प्रयोग नेपाललाई नसोधी गर्नेकुरा सह्या नहुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै चीन र भारतको भ्रम्ण गर्न लाग्नुभएको उल्लेख गर्दै कुटनीतिक तवरले समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।
सांसद ढुंगानाले नेपाली जनताले सोचेअनुसारको संघीयता देशमा चल्न नसकेको बताए ।