काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोगको रोकथाम र नियन्त्रणका लागि एकदिने ‘वाक एन्ड एक्ट’ मेगा अभियान सम्पन्न गरेको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार श्रावण महिनालाई डेंगी रोग सचेतना महिनाको रूपमा मनाउँदै गत महिना नियमित अभियान सञ्चालन गरिएको थियो। डेंगी रोगको प्रकोप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरपालिकाले हरेक शुक्रबार लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।
राष्ट्रिय सभा गृहबाट सुरू भएको अभियानमा महानगरका सबै वडाहरूमा एकसाथ लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, माइकिङमार्फत जनचेतना फैलाउने, र्यालीमा भेटिएका लामखुट्टेका अण्डा र लार्भा नष्ट गर्ने, साथै आमनागरिकलाई सचेत गराउने कार्य गरिएको थियो। अभियानमा महानगरका विभागीय प्रमुखहरू, स्वास्थ्य विभागका कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी र विभिन्न सरोकारवालाहरूले सक्रिय सहभागिता जनाएका थिए।
स्वास्थ्य विभागका प्रमुख दीपक कुमार केसीले अभियानको महत्त्वबारे प्रकाश पार्दै भने, “डेंगी रोग नियन्त्रणका लागि सामुदायिक सहभागिता र सचेतना अत्यन्त महत्वपूर्ण छ। हामीले लामखुट्टेको बासस्थान नष्ट गर्न र आमनागरिकलाई सचेत गराउन यो मेगा अभियान आयोजना गरेका हौँ। सबैको साथ र सहयोगले डेंगी नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्न सकिन्छ।”
यस अभियानले काठमाडौँ महानगरवासीलाई आफ्नो घर, आँगन र वरिपरि सफा राख्न, पानी जम्ने ठाउँहरू हटाउन र लामखुट्टेको टोकाइबाट बच्न प्रेरित गरेको छ।
महानगरपालिकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, वासिन्दा, सरकारी तथा निजी कार्यालय, अस्पताल, नर्सिङ होम, विद्यालयलगायत सबै क्षेत्रलाई आफ्नो वरिपरि सफाइ राख्न आग्रह गरिएको छ।
महानगरपालिकाले वडाहरूमा रहेका प्रवर्द्धन केन्द्रहरूसँगको सहकार्यमा यस्ता सरसफाइ र सचेतनामूलक कार्यक्रममा सहयोग गर्न तयार रहेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्