२०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी ६ सय ५१ जनाको मृत्यु


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताएका छन् ।

राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेकाे जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यसबारे जानकारी गराएका हुन् । मन्त्री लेखकले २ हजार ८ सय ९९ जना घाइते हुनुभएको बताए ।

द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको जानकारी दिए। उनकाअनुसार घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका दरले मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आइएको छ ।

गृहमन्त्री लेखकले परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने गरेको बताए ।