नेपालका अभौतिक सम्पदा अन्तर्राष्ट्रिय सूचीमा दर्ता गरिनेछ : मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा दर्ता भएका अभौतिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाल सरकारले अभौतिक सम्पदाको संरक्षण र सूचीकरणलाई प्राथमिकतामा राखेको स्पष्ट पारे्का हुन् ।

मन्त्री पाण्डेका अनुसार सरकारले कार्यविधि बनाई हालसम्म १०५ वस्तु अभौतिक सम्पदाको रूपमा दर्ता गरिसकेको छ। नेवार समुदायको परिकार “योमरी” नेपालमा दर्ता भएको पहिलो अभौतिक सम्पदा भएको उनले जानकारी दिए ।

“यो विधेयक कानुन बनेपछि मौलिक अभ्यासहरूको सूचीकरण मात्र नभई प्रचार–प्रसार र संरक्षणमा समेत ठूलो टेवा पुग्नेछ,” मन्त्री पाण्डेले भने ।

विधेयक निर्माणको क्रममा सरोकारवाला पक्षहरूसँग विस्तृत छलफल गरिसकिएको मन्त्री पाण्डेले जानकारी गराए ।