भिजिट भिसामा नेपालीहरू पुग्छन् इक्वेडरसम्म 


काठमाडौँ । नेपालीहरू भिजिट भिसामा १५६ देश पुग्ने गरेकाे पाइएको छ । अध्यागमन विभागले सन् २०२३ को तथ्याङ्कका आधारमा गरेको विश्लेषणअनुसार इक्वेडरदेखि म्याकाडोनियासम्म पुग्ने गरेको पाइएको हो ।
विभागका अनुसार  सन् २०२३ मा कुल २ लाख ४ हजार ५ सय १८ नेपाली नागरिकहरूले पर्यटन तथा घुमफिरको उद्देश्यले विदेश यात्रा गरेकामा सन् २०२४ मा २ लाख ७४ हजार ४ सय २८ जनाले सोही उद्देश्यले विदेश भ्रमण गरेका छन्। 

पर्यटन तथा घुमफिरको उद्देश्यले विदेश यात्रा गर्ने नेपालीहरूमध्ये  करिब ३५ प्रतिशले भारत भ्रमण गरेका भने २७.१९प्रतिशतले मध्यपूर्वको आर्थिक केन्द्र संयुक्त अरब इमिरेट्स (यूएई), १०.३९ प्रतिशतले  थाइल्यान्ड  भ्रमण गरेका छन्। 

विभागको विवरणले पर्यटन तथा घुमफिरको उद्देश्यले विदेश यात्रा गरेको देखाए पनि अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान जस्ता देशहरूमा  नेपालीहरूको नियमित भ्रमण रहेको देखाउँछ । यी गन्तव्यहरूमा यात्राको सुरुवाती उद्देश्य ‘पर्यटन तथा घुमफिर’ राखिएको भए पनि शिक्षा, रोजगारी हुँदै स्थायी बसोबास र पारिवारिक भेट्घाटका लागि जाने गरेको देखिन्छ।
त्यसपछि भिजिट भिसामा नेपालीहरू जाने देशहरूमा चीन, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, संयुक्त राज्य अमेरिका , जापान  र ओमान रहेका छन्।
युरोपका देशमा साढे ८ हजार
सन् २०२३ को तथ्याङ्क अनुसार युरोपका ३८ देशहरूमा कुल ८ हजार,६३८ जना नेपालीहरूले यात्रा गरेका छन्। यो  पर्यटन तथा घुमफिरको उद्देश्यले विदेश यात्रा गर्नेहरूको  ४.२२ प्रतिशत हो।
सेन्जेन क्षेत्रमा कुल ३ हजार ६३३ नेपालीहरूले यात्रा गरेका छन् । सेन्जेन भिसाले नेपाली नागरिकहरूलाई एकै भिसामा २९ देशहरूमा ९० दिनसम्म यात्रा गर्ने अवसर पाइने भएकाले पोर्चुगल, माल्टा, साइप्रस, लक्जेमबर्ग, आइसल्यान्ड, स्लोभेनिया, एस्टोनिया, लाट्भिया, एन्डोरा जस्ता देशमा भिसा आवेदन गरेर उनीहरू युरोप पुगेका हुन् ।

भिजिट भिसामा युरोप जानेहरूमध्ये बढी संख्यामा भने संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, स्पेन, अस्ट्रिया, डेनमार्क, बेल्जियम,लगायतका देश छन् ।

यसैगरी अफ्रिकी महादेशको  इजिप्ट, दक्षिण अफ्रिका, केन्या, तान्जानिया, जस्तै युगान्डा, मोरक्को, घानादेखि ससाना देशहरूमा पनि भिजिट भिसामा पनि नेपाली पुगेको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ ।