काठमाडाैँ । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छिन् । शीतल निवासमा भएको भेटमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने सम्भावनाबारे छलफल भएको छ ।
राष्ट्रपति पौडेलले नेपाल र भियतनामबिच आर्थिक सहकार्य विस्तारका लागि ठूलो सम्भावना रहेको बताउँदै यसलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको उल्लेख गरे । “नेपाल अहिले कृषि, पर्यटन, उत्पादन र जलविद्युत क्षेत्रमा लगानीमार्फत आर्थिक-सामाजिक रूपान्तरणमा केन्द्रित छ,” उनको भनाइ उद्धृत गर्दै राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गरेकोमा प्रशंसा गरे । उनले बौद्ध धर्मले दुई देशका जनताबिच गहिरो सम्बन्धको सेतुको रूपमा काम गरेको र लुम्बिनीलाई भियतनामीहरूले पवित्र तीर्थस्थलका रूपमा हेर्ने गरेकोमा खुशी व्यक्त गरे ।
भियतनामकी उपराष्ट्रपति सुआनले नेपालको सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र भियतनामको सन् २०४५ सम्म उच्च आय भएको मुलुक बन्ने लक्ष्यलाई जोड्दै सन् २०३० अघि नै दुई देशबीच वृहत सम्बन्धको ढाँचा तयार गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले संस्कृति, खेलकुद र पर्यटन क्षेत्रमा सहकार्यको सम्भावनालाई जोड दिइन् ।
उपराष्ट्रपति सुआनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति स्थापना र जलवायु परिवर्तनप्रति देखाएको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताइन् ।
यो भेटले नेपाल र भियतनामबीच आर्थिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने आधार तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्