काठमाडौँ । सरकारले लामो समयदेखि भुक्तानीको प्रतीक्षा गरिरहेका उखु किसानलाई अनुदान वापतको रकम निकासा गरेको छ ।
अर्थ मन्त्रालयले यस शीर्षकमा कुल ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सो रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानहरूको बैंक खातामा भुक्तानी हुनेछ, जसको रकम पर्सी भित्रै किसानको खातामा पुग्ने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार यसपटक किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराइनेछ । यसअघि किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँको दरले प्रोत्साहन पाउँदै आएका भए पनि मुलुकको हालको आर्थिक अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै अनुदान घटाइएको मन्त्रालयले जनाएको छ । तर, रकम निकासामा ढिलाइ हुँदा किसानहरू काठमाडौंमा आन्दोलनरत रहँदै आएका थिए ।
यस्तै, अनुदानसम्बन्धी विवाद समाधान गर्न आज सिंहदरबारस्थित कृषि मन्त्रालयमा किसान प्रतिनिधि र सरकारी अधिकारीबिच वार्ता भएको छ ।
वार्तामा मन्त्रालयतर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधिहरू सहभागी भए भने किसानतर्फबाट श्यामबाबु रायसहितका नेताहरू उपस्थित थिए ।
यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेका थिए। वार्ता सकारात्मक दिशामा अघि बढेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्