बन्दिपुर केबलकार एन्ड टुरिजमद्वारा सर्वसाधारणका लागि आइपिओ बिक्री खुला


काठमाडौँ । बन्दिपुर केबलकार एन्ड टुरिजमले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरिएको जनाएको छ ।

जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आजदेखि आइपिओ बिक्री खुला गरेको हो ।

दोस्रो चरण अन्तगर्त कम्पनीले सर्वसाधारणका लागि ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

आइपिओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिने बन्दिपुर केबलकार एन्ड टुरिजमले जनाएको छ ।

कम्पनीको आइपिओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ २५ गतेसम्म समय थप्न सक्ने छ ।