केबलकारलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय लगानी बढ्दै गएपछि सरकारले केबलकार आयोजनालाई प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको हो ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा ‘निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रियरूपमा प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने’ उल्लेख छ ।

मन्त्रपरिषद्को निर्णय आज सार्वजनिक गर्दै पृथ्वीसुब्बा गुरुङ्ले नेपाल सरकारबाट घोषणा भएका विभिन्न २० ओटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइनका साथै निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

देशभर अहिले केबलकार क्षेत्रमा २५ अर्ब रुपैयाँ बराबर लगानीको आँकलन छ भने २५ भन्दा बढी केबलकारमा १ खर्ब भन्दा बढी लगानीको प्रतिबद्धता छ । अहिले देशभर ८ ओटा केबलकार सञ्चालमा छन् ।

नेपालमा केबलकारहरू अहिले धार्मिक र पर्यटकीय दृष्टिकोणले सञ्चालन हुँदै आएका छन् । यसलाई यातायातको साधानको रुपमा समेत प्रयोग गर्न सकिने बहस चलिरहेको छ ।