मनसुनी हावाको प्रभाव बढ्यो,भारी वर्षाको सम्भावना


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी हावाको कारण विभिन्न ठाउँमा वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराइका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।