निजी क्षेत्रको लगानी बाँकेबाट पश्चिम जान सकेनः मुख्यमन्त्री शाह


काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निजी क्षेत्रको लगानी बाँकेबाट पश्चिम जान नसकेको गुनासो गरेका छन् ।

बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रायलमा आयोजित सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम उनले निजी क्षेत्रको ठूलाठूला लगानीहरु लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको बताएका हुन् ।

उनले लगानी सुदूरपश्चिमसम्म के कारणले पुग्न नसकेको हो ? भन्दै प्रश्न समेत गरे । सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा भिन्नता देखिएको उनकाे भनाइ छ । उनले निजी क्षेत्र सुदूरपश्चिमसम्म पुग्न नसकेको कारण के हो ? भन्ने पहिचान गर्न खोजेको पनि उल्लेख गरे ।

उनले निजी क्षेत्रलाई ढुक्क भएर सुदूरपश्चिममा लगानी गर्न आग्रह समेत गरेका छन् । निजी क्षेत्रलाई जग्गा, सडक, विद्युत लगायतका पूर्वाधार प्रदेश सरकारले उपलब्ध गराउने उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्न लागेको छ । सोही सम्मेलनको बारेमा प्रदेश सरकारले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रिया आयोजना गरेको हो ।