नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन गर्दैछः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन आयोजना गर्ने बताएका छन् ।

बिहीवार मन्त्रालयमा भएको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा लगानीको सम्भावना सबैभन्दा बढी खानीमा देखिएको बताए ।

संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएको र त्यसको उत्पादन गरिरहेका मुलुकहरुलाई आमन्त्रण गरेर खानी सम्मेलन गर्ने उनले जानकारी दिए । चीन, भारत, अष्ट्रेलिया, अमेरिका लगायत खानीमा सफलता प्राप्त गरेका खानीका विज्ञ, त्यहाँको प्रविधि उत्पादकहरु र संस्थाहरुलाई नेपाल ल्याएर खानीमा लगानीको वातावरण बनाउने उनकाे भनाइ छ ।

दैलेखको जलजलेले नेपालमा खानीको पनि सम्भावना भन्ने देखाएको उनकाे भनाइ छ । उनले नेपाल ग्यासमा आत्मनिर्भर बन्न लागेको बताए । मंसिरबाट ग्यासको उत्पादन परीक्षण शुरु गर्ने उनले जानकारी दिए । 

उनले नेपालमा वस्तु आयात गर्दा एनएस अनिवार्य गर्ने पनि बताएका छन् । गुणस्तर परीक्षण गरेर मात्रै अब नेपालमा वस्तु आयात हुने उनको भनाइ छ ।

उनले पछिल्लो समय व्यापार द्वन्द्व चलिरहेकोले उल्लेख गर्दै यसले नेपालका लागि ठूलो अवसर दिएको पनि बताए । उत्पादनमा आत्मनिर्भर बनेर निर्यात बढाउनुपर्नेमा उनले जोड दिए ।