काठमाडाैँ । शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा आफूहरुको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन् ।
बिहीवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरुले सो विधेयकमा आफूहरुको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन गर्न दबाब दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन् ।
विद्यालय शिक्षक, कर्मचारीहरुको बाँकि माग पनि सम्बोधन गराउनका लागि आफूहरुले दबाब स्वरुप दलको केन्द्रिय कार्यालयमा धर्ना दिने काम शुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
उनले आफूहरुको सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिए ।
महासंघले भाद्र ११ गते बुधवार (हिजो)बाट सो विधेयकमा आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने दिने आन्दोलनको कार्यक्रम शुरु गरेको छ ।
त्यसैक्रममा बुधवार काँग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरुले बिहीवार (आज) एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन । १३ गते शुक्रवार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित मुख्यालय धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्