काठमाडौँ । नाडा अटोमोबाइल एसाेसिएसन अफ नेपाललाई महासंघमा परिणत गर्ने तयारीमा ठुलो अन्योल पैदा भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले नाडाले भदौ २४ गतेका लागि बोलाएको विशेष साधारण सभा तत्काल रोक्न निर्देशन दिएको हो।
साेमाबार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको निवेदनमा नाडाले गैरकानूनी तरिकाले विशेष साधारण सभा बोलाउन लागेको भन्दै रोक्न माग गरिएको थियो। सोही आधारमा प्रशासनले ‘आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन’ र हाललाई विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको हो।
“विधान बमोजिम वार्षिक साधारण सभा नगरी विशेष साधारण सभा बोलाउनुपर्ने कारण के हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनसम्बन्धी छलफल भएपनि हालसम्म विवाद समाधान नभएको कारण के हो र ?,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइरालाद्वारा जारी पत्रमा भनिएको छ,” । कार्यालयले यी प्रश्नको जवाफ दिन नाडालाई निर्देशन दिंदै हाललाई विशेष साधारण सभा रोक्न आदेश दिएको छ ।
यसअघि नाडाको २१औँ कार्यसमिति बैठकले संस्थालाई महासंघमा परिणत गर्ने निर्णय गरेको थियो। भदौ ८ गते सम्पन्न १७औँ अटो साे सकिएलगत्तै बसेको बैठकमा महासंघ बनाउने विषयमा चर्काचर्की भए पनि अधिकांश सदस्यले सहमति जनाएका थिए। सो निर्णयलाई औपचारिकता दिनका लागि भदौ २४ गते विशेष साधारण सभा आह्वान गरी सार्वजनिक सूचना समेत जारी गरिएको थियो।
तर, प्रशासनको पछिल्लो निर्देशनसँगै नाडाले बोलाएको विशेष साधारण सभा अब हुन नसक्ने निश्चित भएको छ। यसले नाडालाई महासंघमा परिणत गर्ने तयारी समेत तत्कालका लागि अनिश्चित भएको छ।
प्रतिक्रिया दिनुहोस्