काठमाडौं । सरकारले आउँदै गरेका चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
सरकारले यही भदौ ३० गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र गरिसकेको मन्त्रालयले जनाएको छ ।
खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ ।
खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।
उपत्यकाबाहेक विभिन्न जिल्लामा साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउनेछ ।
साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, दाल, पिठो तथा मैदामा प्रतिकिलो समान सात रुपैयाँ छुट दिनेछ ।
प्रतिक्रिया दिनुहोस्