स्थानीय तहका महिला जनप्रतिनिधिहरु सक्षम छन्ः अष्टलक्ष्मी शाक्य


काठमाडौँ । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरु सक्षम रहेको बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधिबारे आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिधिहरुको मूल्यांकन गर्ने परिपाटी अझै बन्न नसकेपनि त्यस क्षेत्रको विकासमा महिला जनप्रतिनिधिहरुले देखाएको आँट, हिम्मत र सोच प्रशंशायोग्य रहेको बतताइन् ।

उपाध्यक्ष शाक्यले भनिन्,‘अहिलेसम्म नेपालमा जनप्रतिनिधिहरु अझै स्थानीय तहको जनप्रतिनिधिहरु पुरुष, महिला उहाँहरुको कामको, सुकर्मको मूल्यांकन गर्ने परिपाटी नै छैन । स्थानीय तहका जनप्रतिनिधिहरुले तल बसेर जनताका लागि सेवा गरिरहेको, परिवर्तनका लागि काम गरिराखेको कामको मूल्यांकन त हुुनुपर्ने । तर हुन सकेको छैन । तर जे होस कल्प आँट, हिम्मत गरेर एउटा सपना बोकेर, हामी सक्छौ भनेर यो आँट गरेर आउनु भयो । एउटा मूल्यांकन गर्ने परिपाटी ल्याउनु भयो । यो चानचुने कुरा होइन । महिला जनप्रतिनिधिहरुमा पनि आँट र हिम्मत बढेको मैले महशुस गरेको छु ।’

मुलुकलाई समृद्ध बनाउनका लागि महिलाहरुको नेतृत्व स्थापित गराउनु जरुरी रहेको उल्लेख गर्दै शाक्यले सञ्चार माध्यमहरुले पनि महिलाहरुलाई अघि बढाउने काममा सहयोग गर्न आग्रह गरिन्।

उनले आफू विस्तारै राजनीतिबाट रिटायर हुने अवस्थामा पुगेपनि महिलाहरु त्यस क्षेत्रमा अघि बढ्न सक्षम भएको आफूले पाएको पनि बताइन् ।

उपाध्यक्ष शाक्यले समाजलाई विभेदमुक्त बनाउन पनि महिलाहरुको नेतृत्व आवश्यक रहेको जिकिर गरिन् ।