काठमाडाैँ । अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ ।
विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सुचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले यस प्रणालीको विकास गरेको हो । यस प्रणालीलाई दुई चरणमा गरेर लागू गर्ने विभागको तयारी छ ।
पहिलो चरणमा २०८२ असोज १ गतेदेखि काठमाडाैँ उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिने विभागले जनाएको छ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जहरूमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजानिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिनेछ ।
अध्यागन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालभित्र प्रवेश गर्ने विदेशी नागरिकको सूचना राज्यले राख्नको लागि यस प्रणाली लागू गर्न लागिएको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीको क्रममा उनले नेपाल प्रवेश गरेका जो कोहीको गतिविधि राज्यको सूचनामा हुनुपर्ने भएकाले यो प्रविधि जडान गरिएको बताए ।
दुई वटा कारणले उनीहरू राज्यको निगरानीमा हुनुपर्ने विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाई छ । पहिलो कारण विदेशी नागरिक, पर्यटकहरूको सुरक्षा, उनीहरुलाई आवश्यक परेको बेलामा राज्यले दिनुपर्ने सुविधा, उद्धार, खोज रहेको उनले बताए।
शाहसिक पर्यटनको लागि नेपाल आउने पर्यटकहरूलाई समस्या परेको बेला तुरुन्तै उद्धार गर्न गाह्रो परिरहेको उनको भनाइ छ । दोस्रो, नेपाल भित्र प्रवेश गरेर विदेशीहरूले देशको भिषा विपरित, प्रचलित कानून, सामाजिक मूल्य, राजनितिक, सामाजिक, आर्थिक चाखहरुको विरुद्धमा कुनै काम गरेको भए पत्ता लगाउन आवश्यक रहेको महानिर्देशक तिवारीको भनाइ छ । उनले अपराध अनुसन्धानको हिसावले पनि यो प्रणाली निकै महत्वपूर्ण भएको बताए ।
यस प्रणाली लागू गर्ने विभागको तत्कालिन उद्देश्य भने पर्यटकहरूको गतिविधिको निगरानी गर्ने भएको महानिर्देशक तिवारीले बताए । पर्यटकहरू कुनै होटलमा गएपछि होटलले चेक ईन र चेक आउटको सूचना मात्रै विभागको सिष्टममा फाल्ने उनले जानकारी दिए। त्यो भन्दा बढी उनीहरूले के खाए, कतिबेला सुते लगायतका विषय राज्यले खोजेर नबस्ने उनको भनाइ छ ।
उनले यस प्रणालीमा पर्यटकलाई समावेश गर्ने नभई उनीहरुले सेवा प्रवाह गर्ने संस्थाहरुलाई समावेश गर्न लागिएको बताए । पर्यटकलाई सेवा सुविधा प्रदान गर्ने होटल, बैंक, मनि एक्सचेन्ज, ट्राभल एजेन्सी, हवाई कम्पनी, सवारी कम्पनीमार्फत पर्यटकहरूको गतिविधि निगरानी गर्न लागिएको उनले जानकारी दिए । ती कम्पनीहरूले राखेका रेकर्ड विभागको प्रणालीमा राख्न लागिएको उनको भनाइ छ ।
विभागका महानिर्देशक तिवारीले नेपाल प्रवेश गरेको पर्यटक अध्यागमनबाट नफर्केसम्म राज्यले आवश्यक परेको बेला, उनीहरूकै परिवारलाई, विदेशी नियोगहरूलाई आवश्यक परेको बेलामा कहाँ छ भन्ने जानकारी उक्त प्रणालीले दिने बताए। यो प्रणाली नहुँदा पर्यटकहरु कहाँ के गरिरहेको छ भन्ने थाहा पाउन मुस्किल भएको उनको भनाइ छ ।
व्यक्तिगत डाटाको दुरुपयोग होला नी भन्ने प्रश्नमा उहाँले यो डाटा राज्यले लिन लागेकोले दुरुपयोग हुने सम्भावना नै भएको बताए । अध्यागमनले ट्रयाकिङ गर्न लागेको भन्दा बढी विवरण पर्यटकहरूलाई भिषा दिँदा नै विभागसँग हुने उनको भनाइ छ ।उनले साईवर सुरक्षाका लागी रोबर्ट सिष्टम बनाएको पनि बताए ।
विभागले विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने सबै सार्वजानिक संस्था एवं निजी कम्पनीहरुलाई यस प्रणालीमा अनिवार्य आवद्ध हुन आग्रह गरेको छ ।
विभागकाअनुसार अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आत्मसम्मानको अभिवृद्धि, पर्यटन प्रवद्र्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधिहरू राज्यको जानकारीमा राख्नको लागि यस प्रणालीको विकास गरिएको हो ।
विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको कार्यन्वयन गर्न विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरूलाई पत्राचार गरिसकेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यलयमार्फत नियमित रूपमा अनुगमन हुने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्