काठमाडाैँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्रको आन्तरिक विवाद सार्वजनिक हुँदै गएको छ। मंगलबार असन्तुष्ट पक्षका पूर्वअध्यक्ष र कार्यसमिति सदस्यहरूले एक विज्ञप्ति जारी गर्दै हालका अध्यक्ष, महासचिवसहित केही पदाधिकारीहरूको गतिविधि संस्थाको विधान र प्रचलित कानुन विपरीत भएको आरोप लगाएका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार ४७औं वार्षिक साधारणसभाबाट पारित संशोधन विधान जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको अवस्थामा त्यसलाई बाइपास गर्दै मनोमानी ढंगले संस्था सञ्चालन भइरहेको छ। संस्थाको निर्णयहरूलाई अमलमा ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयमा दर्ता निवेदन समेत विचाराधीन रहेपनि कार्यकारी पदाधिकारीहरूले व्यक्तिगत स्वार्थमा आधारित गतिविधि गर्दै आएको असन्तुष्ट पक्षको दाबी छ।
विज्ञप्तिमा केही कार्यसमिति सदस्यहरूलाई स्पष्टीकरण सोध्ने, राजीनामा दिन बाध्य पार्ने र विधान संशोधनका नाममा चलखेल गर्ने जस्ता क्रियाकलाप भएको आरोप लगाइएको छ। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले हालसालै पत्र संख्याः २०८२/०८३, च.नं. ११९, मिति २०८२/०५/१६ मार्फत विशेष साधारण सभासम्बन्धी निर्णय स्थगित गर्ने आदेश जारी गरेको पनि विज्ञप्ति मार्फत प्रष्ट पारिएको छ।
असन्तुष्ट पक्षले संस्था दर्ता ऐन २०३४ अनुसार महासंघमा लैजाने निर्णय अवैधानिक हुने चेतावनी दिदैँ सो निर्णय खारेज गरी विशेष साधारण सभा स्थगित गर्न निवेदन समेत दिएको जनाएको छ। उनीहरूको अनुसार वार्षिक साधारण सभा नजिकिँदै गर्दा र कार्यकाल सकिनै लाग्दा संस्थालाई महासंघमा लैजाने जस्ता गम्भीर र दुरगामी निर्णय औचित्यविहीन छन्।
विज्ञप्तिमा ध्रुवबहादुर थापा (निवर्तमान अध्यक्ष), आकाश गोल्छा (वरिष्ठ उपाध्यक्ष), निराकार श्रेष्ठ (उपाध्यक्ष), सुनिल रिजाल, यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रदीपमान प्रधान, सोहन श्रेष्ठ र सौरभ थापा (कार्यसमिति सदस्य) का नाममा संस्थाको हालको गतिविधिप्रति घोर आपत्ति र विरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्