प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कँदै छन् । उनले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी भएका थिए ।

भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन पुगेका प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न मुलुकका उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका थिए ।

तियानजिनमा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग विशेष भेटवार्ता गरेका थिए भने बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटघाट गरेका थिए ।

त्यस्तै, भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार राष्ट्रको रुपमा रहँदै आएको छ । सन् २००१ मा स्थापना भएको एससिओ अहिले विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक बनेको छ ।

चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य हुन् भने अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् ।

नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स यस संगठनका संवाद साझेदार (डायलग पार्टनर) रहेका छन् ।

प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणलाई नेपाल-चीन सम्बन्ध सुदृढीकरणका साथै बहुपक्षीय कूटनीतिक सक्रियता अभिवृद्धि गर्ने अवसरको रूपमा हेरिएको छ ।