जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । विदेशी स्याउ आयातमा २ महिना प्रतिबन्ध लगाउन पनि उनको माग छ । उनले विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्न माग गरे।

उनले सबै सांसद एवं संसद सचिवालयका कर्मचारीहरूलाई समेत जुम्लाको स्याउ किनिदिन आग्रह गरे। सांसद शाहीले स्याउ विक्रीका लागि राजधानी ल्याउँदा बाटो प्रहरीले जाँचको नाममा हेरानी गर्ने गरेको भन्दै गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराए । 

“जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरुले किनिदिनुहोला । अहिले मात्रै विदेशी स्याउ आइराखेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारिकरण गर्न गाह्रो पारेको छ । अघिल्लो महिनामात्रै डेढ अर्ब स्याउ आयात भएको छ । त्यसको क्वारेन्टाइन चेक नगरिकन यहाँ नल्याउनुहोला । सकभर एकदुई महिना विदेशी स्याउ आयात रोकिदिनुहोस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ र किसाले पैसा पाउँछ,” उनले भने ।

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उनकाे जोड छ ।