उखु किसानका मागहरू सम्बोधन गर्न एमाले सांसद महतोद्वारा सरकारको ध्यानाकर्षण


काठमाडाैँ । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले उखु किसानका मागहरू सम्बोधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले किसानको लागत र मेहनतको प्राथमिकता राखेर उखुको मूल्य निर्धारण गर्न तथा अनुदान वितरणमा रहेको अपारदर्शिता हटाउन समेत सरकारसँग माग गरिन्।

उनले किसानहरू सधैं आफ्नो पसिनाको मूल्य प्राप्तिका लागि सडकमा आउनुपर्ने बाध्यता अन्त्य गर्न समेत माग गरिन्। उनले सरकारलाई किसानमैत्री अनुदान, सिंचाई सुविधा र चुरे संरक्षणको ठोस कार्यक्रम ल्याउन आग्रह गरिन्। उनले चुरे संरक्षणमा भएको लापरवाहीका कारण मधेशमा ठूलो समस्या उत्पन्न भएको भन्दै यसबारे गम्भीर कदम चाल्नुपर्नेमा जोड दिइन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण राष्ट्रिय हित र सार्वभौमिकताका सवालमा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरिन्।