काठमाडौं । ओमस्टोन होटल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) सार्वजनिक सेयर निष्काशनको लागि इस्यू म्यानेजर तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले एक कार्यक्रमबिच इस्यू म्यानेजर तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्ती सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।
यस सम्झौतामा, ओमस्टोन होटल्स लिमिटेडतर्फबाट प्रबन्ध निर्देशक श्री रेमेश कुमार हुमाल र सिटिजन्स क्यापिटल लिमिटेडतर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री साबिर बडे श्रेष्ठ ले औपचारिक समारोहबीच हस्ताक्षर गरेका थिए।
सो कार्यक्रममा रिसोर्टका संस्थापक तथा प्रमुख वैदेशिक लगानीकर्ता श्री विष्णु मोर पनि उपस्थित थियो ।
दुसित थानी हिमालयन रिसोर्ट, जसले सन् २०२३ को अन्त्यतिर आफ्नो सञ्चालन सुरु गरेको हो, थाइल्यान्डको ख्यातिप्राप्त आतिथ्य ब्रान्ड दुसित इन्टरनेशनल अन्तर्गतको लक्जरी फ्ल्यागसिप रिसोर्ट हो। काभ्रेपलाञ्चोक, धुलिखेलस्थित पात्लेखेतमा अवस्थित यस रिसोर्टबाट हिमाल र उपत्यकाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।
यो रिसोर्टलाई “उच्च मूल्य एकीकृत रिसोर्ट” को नमूनाका रूपमा विकास गरिएको हो, जसले नेपालको उच्च मूल्य पर्यटन प्रवर्द्धन गर्ने दृष्टिकोणलाई समर्थन गर्ने लक्ष्य लिएको छ।
यस साझेदारीलाई नेपालमा बढ्दो पर्यटन र आतिथ्य क्षेत्र मा लगानी अवसर विस्तार गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्