पोखरामा दुग्ध विकास संस्थान स्थापना गर्ने निर्णयप्रति डेरी एसाेसिएसनकाे आपत्ति


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले सरकारले पोखरा क्षेत्रमा दुग्ध विकास संस्थान पुनः स्थापना गर्ने निर्णयप्रति आपत्ति जनाएकाे छ ।

एसाेसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएकाे हाे । देशको अर्थतन्त्रको सबलीकरणका लागि राज्यले लिने आर्थिक नीतिले निजी, सरकारी र सहकारी क्षेत्रको भूमिकालाई प्रबर्द्धन गर्नु अनिवार्य रहेकाे र यस क्रममा उदारीकरण, खुला बजार र स्वस्थ प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व रहेको एसाेसिएसनले जनाएकाे छ ।

विगतमा निजीकरण नीति अन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको विकास संस्थानले कास्की जिल्लामा स्थित पोखराको दुग्ध प्रशोधन र प्याकेजिङ्ग प्लाट दुई दशक अघि नै निजी क्षेत्रमा हस्तान्तरण गरिसकेको थियो। यसका कारण हाल पोखरामा निजी दुग्ध व्यवसायहरूले अर्बौंको लगानी गर्दै हजारौं रोजगारी सिर्जना गरिसकेका छन्।

नेपाल डेरी एसोसिएसनले संस्थानले पुनः पोखरामा स्थापना खोज्नुले निजी क्षेत्रका व्यवसायीहरूमा असुरक्षा र शंका उत्पन्न गरेको छ। एसाेसिएसनले संस्थानलाई आफ्नो साख र सञ्चालनमा ध्यान दिन र निजी क्षेत्रमा लगानीको वातावरणलाई प्रोत्साहन गर्न आग्रह गरेको छ। निजी क्षेत्रलाई हतोत्साही बनाउने निर्णयप्रति खेद व्यक्त गर्दै तत्कालै पोखरामा दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने निर्णय सच्याउन एसाेसिएसनले अपिल गरेको छ।