भ्रामक समाचारप्रति नाडाले जनायो आपत्ति, विशेष साधारण सभा कानुनअनुसार हुने दाबी


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले संस्था सम्बन्धी हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति आपत्ति जनाएको छ। नाडाले आज एक विज्ञप्ति जारी गर्दै ती दाबीहरू पूर्ण रूपमा निराधार र तथ्यविहीन भएको स्पष्ट पारेकाे छ।

नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढिरहेको जनाएको छ। केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गते बसेको वैठकमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिन विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको छ। यस प्रक्रियामा सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित छ।

विशेष साधारण सभा बोलाउने निर्णयलाई अवैधानिक वा संस्थाको इमान्दारीतामा प्रहार गर्ने दाबी पूर्ण रूपमा असत्य रहेको नाडाले जनाएको छ। प्रारम्भिक रूपमा काठमाडाैँ जिल्ला प्रशासन कार्यालयले उजुरीको आधारमा सभा स्थगित गर्न निर्देशन दिएको भए पनि दुवै पक्षसँग छलफल गरी आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि स्थगन आदेश फुकुवा गरिएको थियो।

का.जि.प्र. कार्यालयको पत्र (च.नं. १३० मिति २०८२/०४/१५) अनुसार नाडासँग प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्ने अधिकार रहेको पुष्टि भएको छ। यसले नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रूपमा सम्पन्न हुने मार्ग प्रशस्त गरेको छ।

नाडाका अध्यक्ष करणकुमार चौधरीले पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने आरोप पूर्ण रूपमा गलत भएको स्पष्ट पार्दै आफू पदमा बस्न कुनै व्यक्तिगत स्वार्थ नराखेकाे बताए ।

नाडाले भविष्यमा पनि पारदर्शी, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयका आधारमा संस्थागत सुधार र योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ। विज्ञप्तिमा सबै सदस्य, व्यवसायी र शुभेच्छुकहरूलाई भ्रामक समाचारको पछि नलागी आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अनुरोध गरिएको छ।