सांसद चौधरीद्वारा मल कारखाना तत्काल खोल्न सरकारसँग माग


काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद चौधरीले सो कारखाना बर्दघाटमै स्थापना गर्न सरकारलाई सुझाव दिएका हुन्। उनले मलको कृत्रिम अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद चौधरीले उखु किसानलाई उचित अनुदान दिने व्यवस्था निरन्तरता दिनु अपरिहार्य भएको बताए । उनले भने, “जतिखेर उखुको मूल्य समयमा तोकिँदैन थियो, त्यसका लागि सडकदेखि सदनसम्म र मन्त्रालयसम्म संघर्ष गर्दै मैले मूल्य तोक्न ठूलो भूमिका खेलेको छु। त्यसबाहेक, प्रति क्विन्टल ७० रुपैयाँ थप सपसिटी दिने व्यवस्था गत सरकारले सुरू गरेको थियो, जसबाट किसानले केही राहत पाएका थिए।”

उनले मल वितरण प्रणालीमा सुधार आवश्यक भएको पनि औँल्याए । सांसद चौधरीका अनुसार केही ठाउँमा मल प्रयोगमा नआएर कुहिएर बस्ने अवस्था छ भने हाम्रो क्षेत्रका किसान जहिले पनि मलको लागि तडपिराखेका छन्।

उनले मलको कारोबार गर्ने बीचौलियाहरूले सिर्जना गर्ने कृत्रिम अभावको श्रृंखला अन्त्य गर्नुपर्नेमा जोड दिए । साथै वर्तमान सरकारले कारखाना स्थापना गर्ने विषयमा देखाएको तदारुकता प्रशंसा गर्दै, त्यसको अन्तिम निर्णय तत्काल गर्न सरकारलाई आग्रह गरे ।