झुट्टा सवारी दुर्घटना बनाएर बिमा रकम दाबी गर्ने ६ जना पक्राउ


काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने काममा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले विभिन्न मिति र समयमा सरकारी कार्यालयका नक्कली कागजात र छाप प्रयोग गरी नक्कली घाइते खडा गर्ने र घाइतेको नक्कली उपचार बि. एण्ड बि. अस्पतालमा गरेको प्रमाणपत्र तयार पारेर नेपाल माइक्रो इन्सुरेन्स कम्पनीबाट बिमा रकम दाबी गर्ने काममा संलग्न थिए।

यस सम्बन्धमा ५ जनालाई १७ गते बेलुकी ७ बजे नियन्त्रणमा लिइएको थियो। प्रहरीले लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने ३६ वर्षीय सुनिल महर्जन र ३३ वर्षीय बिकेश कुँवर, काठमाडौँ महानगरपालिका–१४ बस्ने ५१ वर्षीय बिनोद डंगोल, काठमाडौँ महानगरपालिका–३ बस्ने ३९ वर्षीय सुनिल सापकोटा, पाँचखाल, काभ्रेपलाञ्चोक बस्ने ४८ वर्षीय हरि प्रसाद गौतम र कागेश्वरी मनोहरा–७, निजगढ, बारा बस्ने ४५ वर्षीय मनोज कुमार आचार्य रहेका छन्।

प्रहरी प्रवक्ता राज बाेहराका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफ्नो सवारी सम्बन्धी कागजातसमेत प्रयोग गरी नक्कली सवारी दुर्घटना मिलाएका थिए ।