पोखरा विमानस्थलबाट सिचुवान एयरलाइन्सको छेन्दु हुँदै अष्ट्रेलिया उडान, भूटान एयरलाइन्सले चार्टर्ड सेवा सुरू गर्ने


काठमाडाैँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै नै अन्तर्राष्ट्रिय उडान विस्तार हुने भएको छ। चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु हुँदै अष्ट्रेलिया जाने उडान सुरू गर्ने तयारी गरेको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अक्टोबरदेखि सो सेवा प्रारम्भ हुने छ। उनका अनुसार यस उडानले नेपाली यात्रुहरूलाई अष्ट्रेलिया यात्रा सहज र सुविधाजनक बनाउन मद्दत गर्नेछ।

यसअघि पनि सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु–पोखरा उडान सञ्चालन गरेको थियो। तर प्राविधिक कारण देखाउँदै केही समयका लागि सेवा स्थगित गरिएको थियो। अब भने फेरि छेन्दु हुँदै अष्ट्रेलिया जोड्ने तयारी भइरहेको निरौलाले बताए।

हाल पोखरा विमानस्थलबाट हिमालयन एयरलाइन्सले हप्तामा एक पटक ल्हासा–पोखरा–ल्हासा उडान गर्दै आएको छ। यसैबिच भूटान एयरलाइन्सले पनि चार्टर्ड उडान सुरू गर्ने भएको छ। भूटान एयरलाइन्सले सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा पारो–पोखरा–पारो मार्गमा चार वटा चार्टर्ड उडान गर्ने अनुमति पाएको छ। निरौलाका अनुसार चार्टर्ड उडानपछि बजारको माग हेरेर नियमित सेवा सञ्चालन गर्ने सम्भावना रहेको छ।

महाप्रबन्धक निरौलाले पोखराबाट दुबई, मलेसिया र बैंककसम्मका लागि पनि विदेशी निजी वायुसेवाले तयारी गरिरहेको जानकारी दिए। तर यसबारे निर्णय भने अझै भइसकेको छैन। उनका अनुसार अन्तर्राष्ट्रिय उडान विस्तारका लागि स्थानीय सरकार, प्रदेश सरकार, उद्योगी तथा पर्यटन व्यवसायीले संयुक्त पहल गर्नुपर्नेछ।

हाल नयाँ विमानस्थलबाट दैनिक ४० भन्दा बढी आन्तरिक उडान भइरहेको छ। बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले नियमित सेवा दिइरहेका छन्। अफसिजनमा पनि दैनिक दुई हजारभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने गरेका छन् भने पर्यटन सिजन (सेप्टेम्बर १५ देखि) मा यो संख्या बढेर दैनिक ४ हजारसम्म पुग्ने अनुमान छ।

त्यसैगरी पुरानो विमानस्थलबाट हाल समिट एयरले पोखरा–जोमसोम उडान सञ्चालन गरिरहेको छ भने हेलिकप्टर सेवा पनि नियमित छ।